काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा परनिर्भरता बढेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले गर्दा पनि बैंकिङ क्षेत्रमा परनिर्भरता बढेको हो । जसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरुबीच अल्पकालीन अवधिको लागि एकआपसमा हुने अन्तर बैंक कारोबार रकम बढेर गएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरको समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले नौ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको आठ खर्ब ५६ अर्ब दुई करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ८५ अर्ब ५८ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल नौ खर्ब १९ अर्ब ८९ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब २२ अर्ब ६१ करोड गरी उक्त परिमाणमा अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबार बढेकै आधारमा ब्याजदर पनि बढेको छ । सो अनुसार २०७८ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव ८६ प्रतिशत रहेकोमा २०७९ असोजमा १० दशमलव १४ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ असोजमा चार दशमलव ९५ प्रतिशत रहेकोमा २०७९ असोजमा आठ दशमलव ५० प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ असोजमा आठ दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ असोजमा सात दशमलव ५७ प्रतिशत रहेकोमा २०७९ असोजमा १० दशमलव ३४ प्रतिशत कायम भएको छ । २०७९ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव १६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव १९ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः पाँच दशमलव ४३ प्रतिशत र आठ दशमलव ६९ प्रतिशत रहेका थिए ।
बैंकर एसोसिएसनको निर्णय : मंसिरमा ब्याजदर स्थिर
वाणिज्य बैंकहरुको छाता संगठन (बैंकर एसोसिएसन नेपाल)ले मंसिर महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । संघका पदाधिकारीहरुको मंगलबार बिहान बसेको बैठकले अर्थतन्त्रका सूचकहरु स्थिर रहेको भन्दै ब्याजदर पनि स्थिर राख्ने निर्णय गरेको हो ।
संघका अनुसार भदौ मसान्तममा व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ११ दशमलव शून्य तीन, संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव तीन र बचतमा न्यूनतम छ दशमलव शून्य तीनदेखि आठ दशमलव शून्य तीन प्रतिशतसम्म ब्याजदर कायम रहेको छ । ‘यसैगरी असोज मसान्तममा पनि मुद्दती निक्षेपको ब्याजदर दर नौ दशमलव १३ देखि १२ दशमलव १३ प्रतिशतसम्म पुगेको छ । यो अवस्थामा ब्याजदरमा खासै परिवर्तन गर्नुपर्दैन’, संघले भनेको छ ।