काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने हुन्डाई ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ । आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि तीन कार्यदिनभित्र ग्राहकलाई बैंकले नियमानुसार सहजरूपमा सवारीसाधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर दिपक थपलियालगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९२ वटा शाखा, दुई सय ७० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।