काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्रालयद्वारा हालै स्वीकृत गरिएको विभिन्न सात योजना बदर गर्ने निर्देशन दिएको छ । मन्त्रालयद्वारा हालै स्वीकृत सात विभिन्न योजनाहरू बदर गर्ने निर्देशन दिइएको आयोगले जनाएको छ । सहरी विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहलाई शुकरबार पत्र लेख्दै आयोगले उक्त निर्णय बदर गर्न निर्देशन दिएको हो । मन्त्रालयले यही मंसिर १ गते सचिवस्तरीय निर्णयबाट विभिन्न सातवटा योजनाहरू स्वीकृत गरेको जानकारी आयोगलाई गराएको थियो । ‘यस विषयमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्ने गरी त्यस मन्त्रालयको मंसिर १ गतेको सचिवस्तरबाट भएको निर्णय बदर गरी त्यसको जानकारी ढिलोमा मंसिर ३ गते बिहान ११ बजेसम्म आयोगको इमेल ठेगानामा पठाउनुहुन’, आयोगले भनेको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल कान्तिपथमा स्वयम् उपस्थित भइ लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’ आयोगले निर्णय गर्ने अधिकारीलाई निर्वाचन आयोगबाटै कारबाही प्रक्रिया अगाडि बढाइने पनि जानकारी दिएको छ । यस्तै, आयोगले यसबारे मुख्य सचिव शंकरदास वैरागीलाई समेत पत्र लेख्दै सहरी विकासमन्त्रीको दाङ भ्रमणबारे जानकारी गराइदिन आग्रह गरेको छ । ‘सहरी विकास सचिव रमेश सिंहले दाङ पुगेर मतदातालाई प्रभावित गरेको जानकारी प्राप्त भएको सम्बन्धमा यो पत्र लेखिएको छ’, आयोगले भनेको छ, ‘उल्लिखित सन्दर्भमा निज नियमानुसार विदा वा काज स्वीकृत गराई दाङ गए नगएको सम्बन्धमा जानकारी उपलब्ध गराइदिनुहुन निर्णयानुसार अनुरोध छ ।’ सहरी विकासमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उठेका छन् । उनैलाई सघाउन सचिव सिंह पनि मतदाता प्रभावित गर्ने गरी उक्त क्षेत्रमा पुगेको समाचार सार्वजनिक भएको थियो । निर्वाचनको मुखमा सहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहसहितको टोली मन्त्री चौधरीलाई सघाउन सुटुक्क दाङ पुगेका थिए । सचिव सिंहसहितको टोली दाङ आएको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ताहरुले उनी बसेको होटलमै घेराउ गरेका थिए । दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका चौधरीलाई चुनावमा सघाउन आएको आरोप लागेको थियो ।