काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीएसमा आबद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्वीच (एनपीएस)को लागि सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिनेछ । सोपश्चात् नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना कारोबारहरू गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै नेपाल लाइफले एनपीएसमा उपलब्ध अन्य उपकरणहरूको प्रयोग गरी थप नयाँ सेवाहरू पनि ल्याउने कार्य अगाडि बढाउन सकिने बताएको छ । कम्पनीले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पु-याउने र नेपाललाई आर्थिक समृद्धीतर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरू रहेको नेपाल लाईफको एक सय ९७ वटा शाखा सञ्जाल र २१ लाख दुई हजार तीन सय ६२ अभिकर्ताहरू रहेका छन् ।