काठमाडौं । प्रभु बैंकले आठ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट छ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभाश वितरणसम्बन्धी बैंक सञ्चालक समितिको पछिल्लो पटक बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार एक सय ७५ रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्षमा पनि बैंकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
चालू आवको पहिलो त्रैमासमा भने बैंकले ७० करोड ५० लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको थियो । बैकले चालू आवको पहिलो त्रैमासमा एक खर्ब ७० अर्ब ४० करोड ९२ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५१ अर्ब आठ करोड ३६ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९७ करोड २९ लाख ३२ हजार रुपैैंयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९८ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३० करोड ९३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४२ करोड २३ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३८ प्रतिशत रहेको थियो ।