काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार लाख १३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक करोड २६ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ९५ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात लाख २५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी १६ करोड आठ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक लाख ८२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात १९ दशमलव ७२ प्रतिशत रहेको थियो ।