काठमाण्डौँ,फागुन २३
वैदेशिक रोजगारी त्यागेर दोलखा एक युवाले जिल्लामै अटो सञ्चालनमा ल्याएका छन् । दोलखाका २५ वर्षीय राम गोपाल बस्नेतले दुई वर्षको वैदेशिक रोजगारीबाट कमाएको रकमको सदुपयोग गरेर दोलखा सदरमुकाम चरीकोटमा अटो चलाउन थालेका छन् ।उनले करिब दुई महिनादेखि जिल्लामा कानुनी रुपमा नै अटो सञ्चालनमा ल्याएका हुन् । २०७४ सालको सुरुमा नै विदेशिएका श्रेष्ठले दुई वर्ष खाडी मुलुकमा बिताए । विदेशमा सोचेअनुसार आम्दानी हुन नसकेपछि सीप सिकेर आत्मनिर्भर बन्ने सोचमा स्वदेश फर्किएको उनले बताए । स्वदेश फर्किएपछि बस्नेतले दुई महिना ड्राइभिङ सिके र करिब छ लाख रुपैयाँ अटो खरिद गरेर चरीकोट–दोलखा बजारमा चलाउन सुरु गरे । अटो सञ्चालनको सुरुवाती दिनमा गैरकानुनी रूपमा अटो सञ्चालन गरेको भनेर भीमेश्वर नगरपालिका र स्थानीय प्रशासनले विरोध गरेको उनले बताए । उनका अनुसार कानुनी रुपमा नै अटो सञ्चालन गर्न निवेदन दिँदा समेत भीमेश्वर नगरपालिकाले स्वीकृति दिएन । नगरपालिकाले स्वीकृति नदिएपछि भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष विरामान श्रेष्ठ र वडा ३ का वडाअध्यक्ष हरिशरण शिवाकोटी लगायतको पहलमा वाग्मती प्रदेश सरकारले चरीकोट–दोलखा अटो सञ्चालन गर्न स्वीकृति दिएको उनले बताए ।
अहिले आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेर अटो सञ्चालन गरिरहेको उनको भनाइ छ । अहिले आफू विदेशभन्दा राम्रो कमाइ जिल्लामै गर्न सफल भएको उनले बताए । बस्नेतले अहिले दोलखाको सदरमुकाम चरीकोटदेखि ५ किलोमिटर दूरीमा रहेको भीमेश्वर मन्दिरमा अटो लिएर ओहोरदोहोर गर्ने गर्छन् । चरीकोटदेखि दोलखा बजारसम्मको भाडादर ५० रुपैयाँ तोकिएको छ । अटोले दुईदेखि ३ जना यात्रु बोक्ने गर्छ । दिनमा आठ पटक ओहोरदोहोर गर्ने गरेको उनले बताए । उनले एक दिनमा दुई हजार रुपैयाँसम्म कमाउने गरेका छन् । रिजर्भ जानुपर्ने ठाउँमा उनले तीन सय सय रुपैयाँ लिने गरेका छन् ।