विराटनगर । तीन महिनापहिले काठमाडौंको छाउनीबाट विभिन्न ब्रान्डमा म्याद सकिएको चामलको बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेका सेन्चुरी प्रोडक्टका सञ्चालक एस अग्रवाललाई राजस्व अनुसन्धान विभागले सफाइ दिने तयारी गरेको पाइएको छ ।
म्याद सकिएको सामग्री बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि विभागमा पठाएको थियो । तर विभाले भने कुनै पनि कारबाही प्रक्रिया अगाडि नबढाई सफाइ दिन लागेको हो । विभागले सफाइ दिने संकेत पाएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले भने अग्रवालविरुद्ध आवश्यक कारबाहीका लागि अनुसन्धान सुरु गरेको छ । व्यवसायिक कारोबार दर्ता आन्तरिक राजस्व कार्यालय विराटनगरमा कायम रहेको सेन्चुरी प्रोडक्टको मुख्य सञ्चालकमा भने चामलको कारोबार गर्दै आएका राजेन्द्र प्रसाद अग्रवाल (सिंगापुरी) रहेका छन् । काठमाडौंमा पक्राउ परेका यस अग्रवाल उनैका छोरा हुन् । चामल कारोबारी सिंगापुरीले भारतबाट ठूलो मात्रामा चामलको आयात गरी बिक्री गरेर करोडौँको राजस्व घोटाला गरेको भन्दै विभिन्न समयमा राजस्व अनुसन्धान इटहरीदेखि आन्तरिक राजस्व कार्यालय विराटनगरले पटक–पटक कारबाही गरिसकेको छ । स्रोतका अनुसार २०५८ सालमा कोशी श्री ट्रेडर्सका नाममा ३००७५३४५१ को पान दर्ता लिएका उद्योगी एवं व्यवसायी सिंगापुरीले उक्त फर्ममा नै श्यामबाबा राइस एन्ड आयल मिलको कारोबार थप गरी करोडौको कमाउन सफल भएका थिए ।
सिंगापुरीले बिराटनगर लगायत छेउछाउमा सञ्चालन भएका खाद्यान्य उद्योहरूबाट मधेश आन्दोलन, नाकाबन्दी र हड्ताललाई मुख्य मुद्दा बनाएर करोडौँ कमाउन सफल भएका थिए । साथै सिगापुुरीले ठूलो रकममा राजस्व छली गरेको आशंका पनि स्थानीय व्यवसायीले गरेका छन् । चामलको कारोबारमा राम्रो कमाइ गरिरहेका उनले पछिल्लो समय काठमाडौंमा सेन्चुरी प्रोडक्टको ब्रान्च खडा गरी छोरो एस अग्रवाललाई राजधानीमा कारोबारको जिम्मा दिएका थिए । राजधानी र विराटनगरबाट कारोबार गरिरहेको सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योग प्रालिले करोडौँको राजस्व छली गरिरहेको स्रोतको दाबी छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट नम्बर ३००४६५४०६ मा दर्ता भएको उक्त उद्योगले ४० करोडभन्दा बढी वार्षिक कारोबार गर्नेगरेको छ ।
सेन्चुरी फुड प्याकेजिङका नाममा भारत लगायत तेस्रो मुलुकबाट चामल आयात गरी करोडौँको कारोबार गर्दा पनि कम्पनीले अनुमानित राजस्वको विवरण समेत नदिएको राजस्व स्रोतहरूले बताएका छन् । व्यापारी सिंगापुरे राजस्वको निगरानीमा परेको भए पनि राजस्व अनुसन्धान विभागको विशेष निगाहमा तीन महिनाअगाडि प्रहरीले पक्राउ गरी बुझाउँदा समेत यी कारोबारीलाई राजस्व अनुसन्धानबाट उन्मुक्ति दिन लागिएको पाइएको हो । विभागले सफाइ दिन लागेको थाहा पाएपछि चालूु आवको पुस मसान्तअगाडि नै आन्तरिक राजस्व कार्यालय विराटनगरले आवश्यक कारबाहीका लागि प्रक्रिया सुरु गरेको स्रोतको भनाइ छ ।