कञ्चनपुर, फागुन २५
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जद्वारा आयोजना गरिएको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ समापन गरिएको छ । गत ९ गतेदेखि दुई सातासम्म सञ्चालन गरिएको महोत्सवको शनिबार औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । समापन कार्यक्रममा भीमदत्त नगरपािलकाका नगरप्रमुख सुरेन्द्र विष्टले महोत्सवको प्रगति विवरण सार्वजनिक गरेका छन् । कार्यक्रममा नगर प्रमुख विष्टले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन महोत्सवमा कोशेढुङ्गा भएको बताए । वर्षा र कोरोना संक्रमणको त्रासले महोत्सव कार्यक्रमका केही कार्यक्रमलाई अवरोध पुगेको नगर प्रमुख विष्टले बताए । महोत्सव उद्घाटनका दिन निकुञ्ज प्रवेशद्वारमा बाह्रसिंगाको मूर्ति स्थापना गरी मझगाउँ चौकलाई बाह्रसिंगा चोक नामकरण समेत गरिएको छ । महोत्सवमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ बालबालिका र नेपाल भारतका साहित्यकारहरुले पहिलोपटक सामूहिक रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । भीमदत्त नगरपालिकाले सबैलाई निःशुल्क रुपमा निकुञ्ज भ्रमण गराएको बताएको छ ।
नगरपालिका कार्यालयका अनुसार भ्रमण गर्नेमा अपाङ्गता भएका ३५, ज्येष्ठ नागरिक ९०, एकल महिला ६०, अनाथ बालबालिका ३२ र दुवै देशका साहित्यकार २० जना छन् । महोत्सव अवधिमा एक हजारभन्दा बढी स्वदेशी र विदेशी पर्यटनले निकुञ्ज भ्रमण गरेको नगरप्रमुख विष्टले बताए । पर्यटकहरुलाई मझगाउँस्थित निकुञ्ज कार्यालय र पिपरियास्थित हात्तीसार पोष्टबाट प्रवेश गराइएको थियो । पर्यटन विकासको कुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विषयमा मदनचोकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो, प्रतियोगितामा पूजा सुनार प्रथम, पूजा नेगी द्वितीय, जीवन ज्योति कलौनी तेस्रो र कृष्ण बुढाले चौथो स्थान हासिल गरेका बताएका छन् ।महोत्सवमा १० लाख ५५ हजार रुपैयाँ खर्च गरिएको आयोजकले जनाएको छ । त्यसमा भीमदत्त नगरपालिका ५ लाख, नेपाल पर्यटन बोर्ड २ लाख ५० हजार, प्रकृति संरक्षण कोष ५५ हजार, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २ लाख र कञ्चनपुर उद्योग वाणिज्य संघबाट ५० हजार आम्दानी समापन कार्यक्रममा भीमदत्त नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।