काठमाडौं, फागुन २५
नेपाल औषधि उत्पादक संघले नेपालमा औषधि अभाव हुन नदिने बताएको छ । हाल भारत सरकारले २६ वटा औषधि उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएको छ । भारत सरकारले औषधीमा रोक लगाएपछि संघले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिने बताएको हो । हाल ३ महिनासम्मको सामान्य बजारको लागि आवश्यक औषधि, कच्चापदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको संघले जनाएको छ ।नेपालमा हाल एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् । ४२ वटा अन्य नयाँ उद्योगहरु निर्माणाधीन अवस्थामा रहेको संघले जनाएको छ । भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको भन्दै संघले चीनबाट पनि कच्चा पदार्थ आइरहेको जनाएको छ । भारत र चीन नेपाललाई व्यापारिक दृष्टिकोणले सरल भएकोले धेरैजसो कच्चापदार्थ त्यहाँबाट खरिद गर्ने गरेको संघले जनाएको छ ।
विश्वका अन्य मुलुकमा पनि कच्चापदार्थ बन्ने र जुनसुकै मुलुकबाट पनि कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन नदिने संघले जनाएको छ । नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने भन्दै संघले देशलाई नै औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएको छ । हालको स्थितिमा नै लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाई अनुनय विनय र आग्रह गर्नुपर्ने अवस्था नरहेको पनि संघले दाबी गरेको छ । निजी औषधि उद्योगहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पनि नेपाल औषधिमा आत्मनिर्भर बन्ने संघको दाबी छ । विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गरेर नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पु¥याउन सहयोग गर्न संघले सरकारसँग आग्रह समेत गरेको छ ।