काठमाडौं । यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका खानेपानीमन्त्री उमाकान्त चौधरीले उक्त दाबी गरेका हुन् ।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिए । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको छ ।
माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने बताइएको छ । अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब खर्च गरेको सरकारले अब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रै महिना पानी ल्याउन सकिने सरकारी दाबी छ ।