काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको फाइनान्सले यस अवधिमा न्यूरोड काठमाडौं, सितापाइला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रूपन्देही, भैरहवा रूपन्देही, बुटवल रूपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँके शाखासहित २१ वटा शाखा कार्यालयबाट सेवा पु¥याउँदै आएको छ ।
वार्षिकोत्सवको अवसरमा फाइनान्सले ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूको लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाएको छ । सोही क्रममा फाइनान्सको १३औँ वार्षिकउत्सवको अवसरमा आइतबार काठमाडौं जिल्ला, सलम्बुटार, साँखु, काठमाडौंस्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिति भएका बालबालिकाहरू तथा मानवसेवा आश्रम, रानीवन काठमाडौंमा रहेका आश्रित बालबालिका तथा वृद्धहरूलाई आवश्यक पर्ने औषधि सामग्रीहरू वितरण गरेको छ । साथै फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाइनान्सको महेन्द्रनगर शाखाले महाकाली क्षेत्रीय अस्पताल महेन्द्रनगरमा रहेका गरिब बिरामीहरूलाई फलफूल वितरण गरेको, कोहलपुर शाखाले कोहलपुरस्थित नेपाल राष्ट्रिय प्राविमा अध्ययनरत विधार्थीहरूलाई युनिफर्म वितरण गरेको र लमजुङ शाखाले चिसापानी लमजुङस्थित कालिका मिलन माध्यामिक विद्यालयलाई आवश्यक पर्ने प्रिन्टरसहित स्टेसनरी सामग्री वितरण गरेको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, सञ्चालक विनोद कुमार तण्डुकार, सञ्चालक तुल्सी प्रसाद बराल र संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । फाइनान्सले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई मोबाइल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिट्यान्स सेवाहरू, सी आस्वा, आईपीएस, कनेक्ट आईपीएस, मोबाइल बैंकिङलगायतका अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।