काठमाण्डौं,फागुन २६
बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा लघुवित्त वित्तीय संस्थाबाहेकका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा ३८ अर्ब ६१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा ३६ अर्ब ५२ करोड ४८ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल निक्षेप ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम ३१ खर्ब ६१ अर्ब ३५ करोड १० लाख रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र ३० खर्ब ६२ अर्ब ३२१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ३५ अर्ब २९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम ३३ अर्ब १० करोड १० लाख रुपैयाँ रहेको छ । विकास बैंकहरुले भने चालू आवकोे पछिल्लो छ महिनामा चार खर्ब १६ अर्ब आठ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५५ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
उक्त कर्जामध्ये सुनचाँदी धितो शीर्षकमा मात्र विकास बैंकहरुले चार अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले पनि पछिल्लो अवधिमा ८२ अर्ब २४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम ९५ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले सुनचाँदी धितो शीर्षकमा ३० अर्ब ८५ करोड २६ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंकहरुले २६ खर्ब ५६ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ७३ अर्ब २४ करोड ८८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले भने उक्त अवधिमा तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार रुपैैयाँ निक्षेप संकलन गरी तीन खर्ब तीन अर्ब ५३ करोड ३७ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा सुनचाँदी धितो शीर्षकमा चार अर्ब ९४ करोड पाँच लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा फाइनान्स कम्पनीहरुले भने ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९९ करोड ३० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जामध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम ७३ करोड १७ लाख रुपैयाँ रहेको थियो ।