काठमाण्डौं,फागुन २६
इरानी वायुसेवा प्रदायक इरान एयरले अर्को सूचना नहुँदासम्मका लागि युरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको संक्र्रमण भइरहेको समय इरानले उक्त निर्णय लिए पनि यो संक्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ । कोरोना संक्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १ सय ९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।इरानी वायुसेवा कम्पनीले आइतबार एक विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि युरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो । यद्यपि इरानले यसलाई कोरोनाभाइरसको महामारी नियन्त्रणको उपायका लागि लिइएको निर्णय नभई युरोपेली अधिकारीहरूले विना कारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ ।
युरोपेली उड्डयन सुरक्षा निकाय (ईएएसए)ले खासगरी एउटा एयरबस ए३२१–२०० र अन्य दुईवटा एयरबस ए३३०–२०० इरान एयरका विमानलाई युरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो । ती विमानले अन्तर्राष्ट्रिय वायुसेवा नियम अनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ ।
स्वीडेनले यही मार्च २ मा एयर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो । तर उक्त निर्णयमा तेहरानले कोरोना भाइरसको महामारीलाई रोक्न इरानले गरेका प्रयास प्रयाप्त नभएकाले भाइरस संक्रमण नभएको उल्लेख गरिएको थियो । इरानी ध्वजावाहक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्रांकफर्ट, भियना तथा रोमलगायत युरोपका धेरैस्थानहरूमा उडान भर्दै आएको थियो ।