काठमाडौं । सानिमा बैंकले बुधबार विविध कार्यक्रमहरू आयोजना गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रूपमा १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान पत्र प्रदान गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका सञ्चालक समिति, व्यवस्थापन समूहलगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरूमा कृतज्ञता व्यक्त गरे । साथै, आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने जानकारी गराए । उक्त कार्यले कर्मचारीहरूको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादनमार्फत ग्राहक सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भयो । त्यसैगरी आगामी २०७९ साल पुस ९ गतेसम्म देशका सातैवटा प्रदेशमा रहेका शाखाहरूमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नवीनतम प्रविधिको प्रयोग गरी आफ्नो वेबसाइटलाई थप सुविधासहित परिष्कृतरूपमा सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटमार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो सेयरको आवेदन दिन सकिनेछ । साथै विदेशमा बस्ने नेपालीहरूले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुविधा पनि लिन सक्नेछन् । बंैकको हाल सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।