काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकार र नेपाल राष्ट्र बैंकले अमैत्रीपूर्ण नीतिहरु ल्याएको भन्दै उक्त नीतिहरुको विरुद्धमा धर्ना दिएको छ । नाडाले गत बिहीबार माइतीघरमण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरेको थियो ।
सरकार र नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा जारी भएका नीतिहरूका सन्दर्भमा सम्बन्धित निकायहरुमा विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक भेटघाट गर्दै समस्याको समाधानको लागि अनुरोध गरिए पनि कुनै सुनुवाइ नभएको कारण नाडाले मंसिर १६ गते पत्रकार सम्मेलन गरी आन्दोलनका माग र कार्यक्रमहरु सार्वजनिक गरेको थियो । सोही कार्यक्रममा आयोजना गरिएको उक्त धर्ना कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापाले सरकारको अमैत्रीपूर्ण नीतिका कारण व्यवसायीहरुले भोग्नुपरिरहेको पीडा र समस्याहरुबारे चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । त्यसैगरी धर्नालाई नेपाल हेवी इक्विपमेन्ट्स व्यवसायी संघ, नेपाल अटोमेकानिक्स व्यवसायी संघका प्रतिनिधिहरुले समेत ऐक्यबद्धता जनाए । धर्नामा उपस्थित व्यवसायीहरुले कालो लुगा र कालो पट्टी लगाएर विभिन्न नाराहरु लेखिएका पम्पलेटहरु बोकी विरोध जनाएका थिए । सोही दिन नाडाका सातवटै प्रदेश एसोसिएसनहरुले आआफ्नो प्रदेशमा एकैसाथ धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।