काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर)सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आईएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरूपमा पारित गरेको हो ।
सभाले ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए)का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी अन्य प्रक्रिया पूरा भइसकेको छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पु-याउने प्रस्तावलाई समेत पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनश शेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव छ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपैयाँ र करपछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । यसका साथसाथै, अध्यक्ष ढकालले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।
आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा एक अर्ब १५ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२ दशमलव ५९ प्रतिशतले वृद्धि भई चार अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा दुई सय ९२ वटा शाखा सञ्जाल तथा तीनवटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित आठ सय ९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा तीन हजारभन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।