काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापारमेला तथा १७औँ हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाका १० जना कलाकारलाई सम्मान गरिएको हो ।
महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरेको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए । सम्मानित हुने कलाकारहरुमा माटोजन्य कला विधातर्फ तहाननी भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापति, कताँ ज्या विधामा आल्को ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधामा बुङमती ललितपुरका ८० वर्षीय मुनीराज ब्रह्मचार्य, जडाउ कला विधामा काठमाडौं बौद्धकी ७७ वर्षीय भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कला विधामा ढल्को काठमाडौंका ७४ वर्षीय प्रा. स्वस्तिरत्न शाक्य रहेका छन् । यस्तै, पत्थरजन्य कला विधामा खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कला विधामा पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कला विधामा क्षेत्रपाटी काठमाडौंका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्का विधामा हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडा विधामा चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार ‘ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मान, २०७९’बाट सम्मानित भएको शाक्यले जानकारी दिए ।
कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृतिअनुसार सगुन दिई खादा ओढाइएको थियो । उनीहरुलाई महासंघका अध्यक्ष शाक्यले ताम्रपत्र प्रदान गरी सम्मान गरेका थिए भने प्रतिव्यक्ति औषधिउपचार खर्चपवापत चार हजार रुपैयाँसमेत प्रदान गरे । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा शुक्रबारबाट सुरु भएको मेला मंगलबारसम्म सञ्चालन हुनेछ । मेलाबाट अन्तर्राष्ट्रिय बजारमा सिधा पहँुच पु-याउन नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसँग व्यावसायिक सम्बन्ध स्थापित गर्नसक्ने अवसर पनि प्राप्त गरेका छन् । प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो वस्तुको उत्पादन गर्ने गरेका छन् भने हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान भइरहेको छ ।