काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले आइतबार अनमोल ब्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा विशेष सभा सम्पन्न गरेको हो । सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक–आपसमा गाभिने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
साथै, विशेष प्रस्तावअन्तर्गत नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक–आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको सेयर स्वाप अनुपात १ः१ पारित गरेको छ । एक–आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जरसम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ ।
एक आपसमा गाभिने सम्वन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको छ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड हाल सातवटै प्रदेशमा गरी जम्मा एक सय ५६ वटा शाखा, १५ एक्टेन्सन काउन्टर र एक सय ४४ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।