काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २६ गते अर्थात् सोमबार पुनः १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरेको हो । यसअघि यही मंसिर १९ गते पनि राष्ट्र बैंकले १९ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर २७ गते मंगलबार तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिएको उक्त ट्रेजरीहरू क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ पुस २६ गते, ९१ दिनेको २०७९ फागुन ३० गते, एक सय ८२ दिने अवधिको २०८० जेठ ३० गते र तीन सय ६४ दिने अवधिको २०८० मंसिर २६ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री भएका यी टे«जरी बिलहरू पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गतसाता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९२ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।