काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संस्थागत सदस्यहरुले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जनलगायतका माग राखी विभिन्न सहरहरुमा प्रदर्शन गरेका छन् । अटो व्यवसायीहरुले चितवन, हेटौंडा र धनुषामा विरोध प्रदर्शन गरेका हुन् ।
बागमती प्रदेशअन्तर्गत रहेका चितवन अटोमोबाइल्स एसोसिएसन र हेटौंडा अटोमोबाइल्स एसोसिएसनले चितवन र हेटौंडामा शान्तिपूर्ण विरोध कार्यक्रम गरेका थिए भने मधेश प्रदेशको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धनुषाको ढल्केबरमा विरोध कार्यक्रम आयोजना गरेको थियो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत ती एसोसिएसनहरुले विरोध प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले सरकारविरुद्धका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर नारायणगढको लायन्स चोक, हेटौडाको बुद्धचोक र धनुषाको ढल्केवरको पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए । सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसाय धराशायी हुनपुगेको उनीहरुको आरोप छ ।
सो धर्ना कार्यक्रममा व्यवसायीहरुले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण, ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनुपर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनुपर्ने लगायतका मागहरु राखेका थिए । उक्त प्रदर्शनी स्थलमा व्यवसायीहरुले ब्याजदर नियन्त्रण गर, शतप्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रिक नीति परिमार्जन गर लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।