काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । कम्पनीले नेपालगञ्जस्थित सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा सात तल्ले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको हो । यसै क्रममा मंसिर २२ गते बिहानको ७ बजेर ३१ मिनेटको शुभसाइतमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट जग पूजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेको कम्पनीले जानकारी दिएको छ ।
जग पूजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरूका कर्मचारीहरूलगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरूसहित करिब एक सय जनाको उपस्थिति रहेको थियो ।
नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधासम्पन्न अन्डरग्राउन्ड पार्किङसहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरू समेत सञ्चालन गर्न सकिनेछ ।
आधुनिक प्रविधिसहित नेपालगञ्जकै नमूना भवनको रूपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माणपछि नेपालगञ्ज लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ । ५२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।