काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी न्यूबीच अवार्डबाट सम्मानित भएको छ । कम्पनीले न्यूबीज अवार्ड फर बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स कम्पनी अवार्ड २०२२ पाएको हो । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीलाई न्यू बिजनेस एज प्रालिले सोमबार, १२ डिसेम्बर २०२२ मा आयोजित सातौँ न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्डमा बेस्ट म्यानेज निर्जीवन बीमा कम्पनी अवार्डको प्रथम विजेता घोषित गरेको हो । यो अवार्ड विभिन्न वित्तीय तथा गैरवित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले देशभर एक सय छवटा शाखा कार्यालयहरूबाट आफ्नो सेवा प्रदान गर्दै आइरहको छ । कम्पनीमा छ सयभन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् । कम्पनीले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनस्थिति बीमाजस्ता नवीनतम बीमाको सुरुवात गरी नेपालमा बीमा क्षेत्रको विस्तार गर्न उल्लेखनीय योगदान पु-याउँदै आइरहेको छ । शिखरले २०७१, २०७३, २०७४, २०७६ सालमा न्यू बिजनेस एज संस्थाबाट बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
नेपालको दुर दराज जिल्लाहरू जुम्ला, कालिकोट, डोल्पा र मुगुका जनतालाई वर्षेनी मौसमका कारण स्याउखेतीमा हुने नोक्सानीका कारण पर्नजाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांकमा बीमालेखमार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपूर्ति प्रदान गरेकै कारण यूके एडबाट समेत कम्पनीले ५० हजार पाउन्डस्ट्रलिङबराबर पुरष्कार राशि प्राप्त गरेको थियो ।
कम्पनीलाई टीबीआई प्रकाशन प्रा. लिले २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा पनि नाम दिइएको थियो र कारोबार उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो । २०२२ मा कर्पोरेट क्लब नेपाल प्रा. लिले बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि एचआरएम नेपाल अवार्डबाट सम्मानित भएको जानकारी पनि कम्पनीले दिएको छ ।