काठमाडौं, फागुन २७
सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालय बनेपामा बैंकले स्थानीय सेयरधनी, जनप्रतिनिधि, सहकारीकर्मी उद्योगी, व्यवसायीलगायत सेवाग्राहीहरूको लागि समुदायमा बैंकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकका अनुुसार शनिबार बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा होटल सत्यम बनेपामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बैंकले हालै मात्र सञ्चालनमा ल्याएको बीमाको सुविधासहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जासम्बन्धी जानकारी शाखा प्रबन्धक सुकेश शाक्यले गराएका थिए । सेञ्चुरी प्लस खातामा बीमा सुविधासम्बन्धी जानकारी आईएमई जनरल इन्स्योरेन्स बनेपाका मार्केटिङ ट्रेनि साजन सुवालले गराएका थिए ।
साथै बैंकको लगानीमा सञ्चालनमा रहेको सेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका लगानी व्यवस्थापन अधिकृत सुमन गौतमले सेयर लगानीसम्बन्धी सचेतना र पोर्टफोलियो व्यवस्थापनको सम्बन्धमा जानकारी गराएका थिए । बचत तथा कर्जा सुविधासम्बन्धी ग्राहकहरूको जिज्ञासाको समाधान बैंकका बाग्मती प्रदेश प्रमुख अमित बज्राचार्य र सहुलियत कर्जासम्बन्धी जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका नियम श्रेष्ठले गरेका थिए ।