अमेरिका । लगानी बैंक गोल्डम्यान स्याकले ठूलो संख्यामा रोजगारी कटौती गर्ने योजना अघि सारेको छ । बैंकले आठ प्रतिशतसमम रोजगारी कटौती गर्ने भएको हो । यो भनेको विश्वभर रहेका उसका कर्मचारीमध्ये चार हजार हो ।
अर्को वर्षको सुरुतिरै यो योजना कार्यान्वयन हुने बताइएको छ । रोजगारी कटौतीले कस्तो असर गर्छ भनेर अहिले यसको तीव्र तयारी भइरहेको छ । प्रमुख कार्यकारी अधिकृत डेभिड सोलोमनले पछिल्ला केही महिनायता आर्थिक परिदृश्यबारे ध्यानाकर्षण गराउँदै आएका थिए ।
आर्थिक परिदृश्य खराब हुँदै गइरहेकोले लागत कम गर्न यो योजना अघि सारिएको बुझिएको छ । लगानी बैंकहरुको राजस्वमा यो वर्ष धक्का लागिएको छ । आर्थिक अनिश्चितता र बजारको उतारचढावले मर्जर र सेयर सूचीकरणलाई असर गरिररहेको छ ।
अघिल्लो वर्ष (२०२१) को तुलनामा यो वर्षको पहिलो नौ महिनामा बैंकको आम्दानी २० प्रतिशतले घटेको छ । यसले गर्दा यो वर्ष बैंकले दिने लाभांश समेत सानो आकारको हुने देखिएको छ ।