अमेरिका । बहुप्रतीक्षित अंग्रेजी चलचित्र ‘अवतार : द वे अफ वाटर’ले अमेरिकी बक्स अफिसमा १३ करोड ४० लाख अमेरिकी डलर आम्दानी गरेको छ । योसँगै निर्देशक जेम्स क्यामरनले पहिलो सात दिनमा १० करोड डलर हात पार्न सफल भएका छन् ।
विश्वभरबाट भने सात दिनमा ४३ करोड ५० लाख डलर आम्दानी भएको छ । यो आइतबारसम्मको आम्दानी हो । क्यामरनले यो चलचित्र निर्माणमा ठ्याक्कै कति खर्च भयो भन्नेचाहिँ खुलाएका छैनन् । उनले खालि यसलाई महँगो चलचित्र मात्र भन्ने गरेका छन् । तर यो इतिहासकै उच्च महँगोमा चौथो या तेस्रो चलचित्र भएको आकलन गरिएको छ । यसको मतलब यो चलचित्रले दुई अर्ब डलरभन्दा धेरै आम्दानी गर्नुपर्नेछ । यसअघिको अवतारले झण्डै तीन अर्ब डलर आम्दानी गरेको थियो । जुन हालसम्मकै उच्च हो । महामारीका बेला स्पाइडरम्यान : नो वे होमले झण्डै १.९ अर्ब डलर आम्दानी गरेको थियो ।