काठमाडौं । विकास बैंकहरुको कुल चुक्ता पुँजी ३७ अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिसम्ममा सञ्चालनमा रहेका क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन । राष्ट्रियस्तरका विकास बैंकहरुले हाल कायम गरेको चुक्ता पुँजीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी भने मुक्तिनाथ विकास बैंकको देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार मुक्तिनाथ विकास बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । चुक्ता पुँजी बढी हुने राष्ट्रियस्तरको विकास बैंकहरुमध्ये दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकहरुले भने पछिल्लो अवधिमा चार अर्ब ५९ करोड आठ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
ज्योति विकास बैंक पनि पछिल्लो अवधिमा चार अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको आधारमा बढी चुक्ता पुँजी हुने तेस्रो ठूलो बैंक बनेको छ । महालक्ष्मी विकास बैंकले पनि पछिल्लो अवधिमा चार अर्ब एक करोड आठ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
राष्ट्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको चुक्ता पुँजी भने क्रमशः तीन अर्ब ७८ करोड १० लाख नौ हजार र तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसैगरी कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिसम्ममा क्रमशः तीन अर्ब १४ करोड २५ लाख ७७ हजार र तीन अर्ब एक करोड छ लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा ९० करोड ३४ लाख २८ हजार रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेको छ । क्षेत्रीयस्तरकै एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा क्रमशः ९० करोड ८४ लाख ५५ हजार र ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् । सिन्धु विकास बैंकले पनि चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यीबाहेक ग्रिन डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः ५१ करोड ९० लाख र ५० हजार २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
क्षेत्रीयस्तरकै कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा क्रमशः ५० करोड र २६ करोड २४ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएका छन् ।
