नयाँ दिल्ली, फागुन २७
भारतीय सेयरबजारमा एकै दिन लगानीकर्ताले ६५ खर्ब भारु गुमाउनुपरेको छ । विश्वमा विकसित पछिल्ला घटनाक्रमले विश्व सेयरबजार नै प्रभावित बनिरहेको अवस्थामा भारतीय सेयरबजारमा पनि त्यसको प्रभाव परेको हो । सोमबार बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स १९४२ अंकले घटेको थियो । त्यस्तै नेशनल स्टक एक्सचेन्ज (एनएसई)को निफ्टी ५३८ अंकले झरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सेयरबजारमा यस्तो गिरावटपछि भारतीय लगानीकर्ताले उक्त रकम गुमाउनुपरेको हो । सेन्सेक्सको गिरावट हालसम्मकै ठूलो भएको नवभारत टाइम्सले जनाएको छ । खासगरी कोरोना भाइरसको बढ्दो फैलावट र अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा आएको गिरावटले सेयरबजार घटेको बताइएको छ । यसबाहेक भारतका पाँच ठूलामध्ये पर्ने एस बैंक संकटमा फस्नुले पनि सेयरबजारमा प्रभाव पारेको हो ।
तेल उत्पादक देशहरुबीचको वार्ता असफल भएपछि साउदी अरेबियाले उत्पादन बढाउने निर्णय गरेको छ । विश्वमा कोरोना संक्रमण तीव्र बनेपछि कच्चा तेलको माग घटेको सन्दर्भमा मूल्य ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । खाडी युद्धपछि कच्चा तेलको मूल्यमा हालसम्मकै ठूलो गिरावट आएको छ । यसलाई पनि भारतीय सेयरबजार घट्नुको कारण मानिएको छ । उता कोरोनाले अधिकांश देशमा आर्थिक नोक्सानी पुगेको छ । संक्रमित संख्या १ लाख नाघ्दा मृत्यु हुने संख्या समेत ३५ सयभन्दा बढी पुगेको छ । त्यस्तै यी घटनाक्रमले लगानीकर्तामा वित्तीय स्थिरतालाई लिएर चिन्ता थपिनु पनि सेयरबजार ओरालो लाग्नुको अर्को कारण मानिएको छ ।