काठमाडौं । शिक्षा एवं स्वास्थ्य उपचार सेवामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट देखिएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वाथ्य विज्ञान प्रतिष्ठानहरूको संयुक्त वार्षिक समीक्षा बैठक २०७८/०७९ को प्रतिवेदनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको देखाएको हो ।
उक्त समीक्षा बैठकमा पेस गरिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान गरी नेपाल सरकारअन्तर्गतका छवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको प्रगति विवरणको तुलनात्मक अध्ययन गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञानमा सबैभन्दा बढी उपचारका लागि बिरामी आउने गरेको देखिन्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षमा चार लाख ८१ हजार पाँच सय १४ जना बिरामीहरूलाई ओपीडीबाट उपचार सेवा प्रदान गरेको छ । त्यसैगरी, इमर्जेन्सी सेवा एवं भर्ना भई उपचार पाएका बिरामीको संख्या पनि अन्य प्रतिष्ठानभन्दा बढी रहेको छ ।