काठमाडौं । सेयरबजार परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार भने पुनः पाँच दशमलव ८९ अंकले ओरालो लागेर १८ सय ६७ दशमलव २२ विन्दुमा खुम्चिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ३४ विन्दुमा खुम्चिएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ५२ वटा कम्पनीहरुको २० हजार चार सय ३३ पटक सेयर किनबेच भएको छ । जसअन्तर्गत २४ लाख ४० हजार तीन सय सात कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८६ करोड ३८ लाख १६ हजार पाँच सय ६१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये वाणिज्य बैंक उपसमूहको सूचक तीन दशमलव ३८ अंकले उकालो लागेर १२ सय ७५ दशमलव ४९ विन्दुमा चढेकोमा बाँकी उपसमूहहरुको सूचक ओरालो लागेका छन् ।