काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो ।
‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ विजेतालाई तीन लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । गत वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पु-याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) नीतिअनुरुप एनसेलले आईसीटी अवार्डमा आबद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ ।
आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागितामा आईसीटी अवार्डको ग्राण्ड फिनाले हुँदै छ । उक्त फिनालेमा वुमन आइकनसहित १२ बढी विधामा आईसीटी अवार्ड वितरण गरिँदै छ ।