काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले सञ्चालनमा बृहत् जुत्ताचप्पल मेला २०७९ आयोजना गरेका छन् । जाडो महिनालाई लक्षित गरी आयोजना गरिएको मेलामा उपभोक्ताहरुको भीड बढ्न थालेको छ ।
भृकुटीमण्डपको गेट छिर्नेबित्तिकै सानो चउरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाइलाइफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धकनिर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला सञ्चालनमा ल्याएका छौँ’, प्रसाईंले भने । एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोक्ताले छानी–छानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तीमा छ महिनाको वारेण्टी रहेको आयोजकको भनाइ छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाइ छ । ‘नेपाली जुत्ताचप्पल पनि यति राम्रा र गुणस्तरीय हुँदा रहेछन् भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाएँ’, मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने, ‘सस्तो मूल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु ।’
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनि छानी–छानी जुत्ता खरिद गर्नका लागि मेला उपयुक्त भएको छ । नेपाली सीप र पुँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्ता नै खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।