काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा ग्लोबल आईएमई बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रालिका तर्फबाट अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार, ग्लोबल आईएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरूलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकहरूलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरूलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरू ल्याई आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९२ वटा शाखा, दुई सय ७० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवाकेन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ ।