काठमाडौँ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको आयात र निर्यात दुवै व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको तुलनामा चालू आवको पाँच महिनामा आयात २० दशमलव ७१ प्रतिशत र निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको हो ।
भन्सार विभागका अनुसार चालू आवको पहिलो पाँच महिनामा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको मात्र नेपालले वस्तु आयात गरेको छ भने ६७ अर्ब ३० करोड ४५ लाख दुई हजारको मात्र निर्यात गरेको छ ।
गत वर्ष सोही अवधि अर्थात् साउनदेखि मंसिर मसान्तसम्म नेपालले आठ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । चालू आवको वस्तु आयात अघिल्लो वर्षको तुलनामा २० दशमलव ७१ प्रतिशत कम हो । वस्तु आयात कम हुँदा नेपालमा सञ्चित रहेको विदेशी मुद्राबाहिर जान रोकिए पनि भन्सारबाट संकलन हुने राजस्वमा ह्रास आएको छ । वस्तु आयात कम हुनुले देशभित्र व्यापार कम भएको पनि संकेत गर्छ ।
त्यस्तै, गत आवको पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड पाँच लाख ७२ हजार रुपैयाँबराबरको वस्तु निर्यात गरेको नेपालले चालू आवको सोही पाँच महिनाको अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख दुई हजार रुपैयाँको मात्र वस्तु निर्यात गरेको छ । यो गत वर्षको सोही पाँच महिनाको कुल निर्यातको ३४ दशमलव ६१ प्रतिशत हो । यसले नेपालभित्र उत्पादनको अवस्था नाजुक बन्दै गएको प्रस्ट संकेत गरेको छ । नेपालभित्र उत्पादन कम भएपछि वस्तु निर्यात क्रमशः कम हुँदै गएको छ । यसले नेपालको व्यापारको अवस्था थप कमजोर भएको संकेत गरेको छ ।
वस्तु आयात तथा निर्यात दुवै कम हुँदा नेपालको व्यापार घाटा १८ दशमलव ७७ प्रतिशत भएको छ । नेपालले चालू आवको पाँच महिनामा पाँच खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार व्यापारघाटा व्यहोरेको छ । यस्तो व्यापार घाटा अघिल्लो आवको सोही अवधिमा सात खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो ।
अघिल्लो आवको पाँच महिनाको तुलनामा चालू आवको पाँच महिनामा व्यापारघाटा कम भए पनि यो निर्यात बढाएर कम भएको होइन । सरकारले केही वस्तुमा लगाएको आयात प्रतिबन्ध नहटाएको कारण मात्र व्यापारघाटा केही कम भएको हो । मंसिर मसान्तपछि गाडीलगायत महंगा वस्तुको आयात खुला गरेको कारण आयात बढ्ने र निर्यात घट्ने क्रम अब फेरि चल्नेछ । यसले व्यापारघाटा अझै बढाउने अपेक्षा गरिएको छ । स्वदेशभित्र उद्योग, कलकारखाना र निर्माण क्षेत्रको काम ठप्प भएको कारण देशको अर्थतन्त्र चलायमान हुन अझै कठिन छ । यसले निर्यातलाई अझै घटाउने देखिन्छ ।
यस्तै, वैदेशिक व्यापार पनि २२ दशमलव २३ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो पाँच महिनामा नौ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार वैदेशिक व्यापार गरेको नेपालले चालू आवको सोही पाँच महिनाको अवधिमा सात खर्ब ३२ अर्ब पाँच करोड नौ लाख ५२ हजारको मात्र वैदेशिक व्यापार गरेको छ ।