काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत् भेला हुने भएको छ । बिहीबारदेखि पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा सुरु भेला शुक्रबारसम्म चल्नेछ ।
नाडाका पूर्वअध्यक्षहरु, नाडाका सातै प्रदेश एसोसिएसनका अध्यक्षहरुलगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्यसमितिको सहभागितामा हुने भेलामा अटोमोबाइलको वर्तमान परिस्थिति सम्बन्धमा दुई दिने बृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम हुनेछ । सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एसोसिएसनहरुबीच नेपालको समग्र अटोमोबाइल क्षेत्रले वर्तमान समयमा भोग्नुपरिरहेको समस्या र बैंकहरुको उच्च ब्याजदरलगायत चालू पुँजी कर्जा लागू गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा अटोमोबाइल व्यवसायीहरुले कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्र्नेछन् । नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाडौंलगायत सातवटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।
सो बृहत् छलफलमा सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधन र १५० सीसीभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायीहरु धमाधम पलायन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्ष निकाल्न व्यापक छलफल हुने नाडाले जनाएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा प्रस्तुति समेत दिनेछन् । यस्तै सो कार्यक्रम सम्पन्न हुनुभन्दा अघि नाडाको १३औँ केन्द्रीय कार्यसमितिको बैठक समेत सौराहामा सम्पन्न हुने बताइएको छ ।