काठमाडौँ, फागुन २८
परिवारको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै केही दिन रहने भएका छन् । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य सुधारोन्मुख देखिएपछि प्रधानमन्त्री ओली आफैं घर जान तयार भएका थिए । मिर्गाैलाको प्रत्यारोपण गरिएको सातौँ दिन मंगलबार त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै केही दिनपछि मात्र निवास फर्काइने जानकारी दिए ।
अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्राडा खड्गाले चिकित्सकीय हिसाबले उनी मंगलबार नै घर फर्किन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने अस्पतालले जनाएको छ । तर, प्रधानमन्त्रीलाई छ महिनासम्म भीडभाडमा नजान अस्पतालले आग्रह गरेको छ ।