काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसँग सम्बन्धित कुनै पनि कम्पनीहरुको सञ्चालक हुन आपराधिक पृष्ठभूमि नभएको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार विदेशी विनिमयसम्बन्धी कम्पनीको नाउँमा परिपत्र जारी गर्दै सोही दिनदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यो व्यवस्थाअन्तर्गत विप्रेषण विनियमावली, २०६७, नेपाल राष्ट्र बैंक मनी चेञ्जर इजाजतपत्र तथा विनियमावली, २०७७, तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा विनियमावली २०७७ लाई संशोधन गरिएको र संशोधित व्यवस्थाअनुसार आपराधिक पृष्ठभूमि नदेखिएको व्यक्तिमार्फत विदेशी विनिमय कारोबारसँग सम्बन्धित कम्पनीहरुमा सञ्चालक हुन पाउनेछ ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई संशोधन गरी विदेशी विनिमय कारोबारमा संलग्न हुने कम्पनीमा सञ्चालक हुन प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तानी गरेको पाँच वर्ष व्यतित भइसकेको प्रमाण पेस गर्नुपर्नेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको सम्बन्धी प्रमाण समेत पेस गर्दछु भनेर उल्लेख गरेको हुनुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।
राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई पनि संशोधन गरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई पनि संशोधन गरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको प्रमाणपत्र पेस गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।
यसअघि अर्थात् यही पुस २ गते पनि राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, पूर्वाधार विकास बैंक र लघुवित्त संस्थाहरुको नाउँमा छुट्टाछुुट्टै परिपत्र जारी गर्दै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको व्यक्ति मात्र बैंकिङ क्षेत्रमा सञ्चालक हुन पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । उक्त परिपत्रअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गर्दे टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति सञ्चालक हुन पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
यो व्यवस्थाअनुुसार अबदेखि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको व्यक्ति सञ्चालक हुन पाउने छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाइ पाएको पाँच वर्ष व्यतित भई नसकेको व्यक्ति कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा सञ्चालक हुन योग्य हुनेछैनन् ।
राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गर्दे चोरी, ठगी, भ्रष्टाचार वा अन्य फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र पूर्वाधार विकास बैंकमा सञ्चालक हुन पाउने व्यवस्था गरेको छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको व्यक्ति मात्र सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भई नसकेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गर्दै टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र लघुवित्त वित्तीय संस्थामा सञ्चालक हुन पाउने व्यवस्था गरेको छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको व्यक्ति लघुवित्त सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भई नसकेको व्यक्ति कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुमा सञ्चालक हुन नपाउने संशोधित व्यवस्थामा उल्लेख छ ।