वासिङ्टन । अमेरिकी प्रतिनिधिसभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ ।
उक्त १७ खर्ब अमेरिकी डलरको ओम्निबस बिल – बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदै छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताएका छन् । एक हप्ताको निरन्तर छलफलपश्चात् चार हजार पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ ।
आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानुनमा गैर–रक्षा, घरेलु कार्यक्रमका लागि सात खर्ब ७२ अर्ब ५० करोड डलर र रक्षा कोषमा आठ खर्ब ५८ अर्ब डलर समावेश छ । यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ ।
यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपत्कालीन कोष पनि उपलब्ध गराउँदै छ । सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको बेला यो कोष आएको हो ।