काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने (२०७९ पुस ५ गतेदेखि ७ गतेसम्म) ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौंस्थित होटल सोल्टीमा सम्पन्न गरेको छ । आव २०७८/२०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल छ सय जनाभन्दा बढी अभिकर्ताहरूलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक श्री सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा विक्रय कलासम्बन्धी तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरूबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराइएको थियो । कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरूलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घाषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् ।
समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यावसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी दिँदै अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिबद्धत्ता जनाए ।
सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग प्रथम, द्वित्तीय, तृत्तीय हुने लिडर अभिकर्ताहरू र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग उत्कृष्ट सात जना अभिकर्ताहरूलाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तीय र तृत्तीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी सात जनालाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्रलगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सम्मानित बिजनेस लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।