काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात् बिहीबारदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले पुस सात गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स क. लि. को नाममा कारोबार भएसँगै सो कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा भएसँगै केन्द्रीय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ । कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई चयन भएका छन् भने प्रकाश विक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
मर्जरपश्चात् सूर्यज्योतिको कुल चुक्ता पुँजी चार अर्ब ५४ करोड र कुल लगानी २८ अर्बभन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आव २०७९/८० को पहिलो त्रैमासिकसम्मको कुल जीवन बीमाकोश २२ अर्ब, कुल बीमाशुल्क दुई अर्ब २७ करोडभन्दा बढी तथा नाफा भने ४२ करोड रुपैयाँ पुगेको छ ।
बीमा क्षेत्रमा सूर्या लाइफले एक दशकभन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक बृहत् कम्पनीको रूपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाइफले भने स्थापनादेखि छोटो समयमा नै विश्वसनीय सेवा दिँदै आफूलाई एक सबल कम्पनीको रूपमा चिनाई रहेको थियो । आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब सात सय कुल अभिकर्ता संख्या करिब ७५ हजारभन्दा बढी, प्रोडक्ट संख्या १५ सँगै देशभर सात प्रदेशमा एक सय ८१ शाखाहरूबाट १३ लाखभन्दा बढी बीमितलाई सेवा दिँदै सूर्यज्योति विशाल कम्पनी भएको छ ।
मर्जरका क्रममा देखिएका सम्पूर्ण कठिनाइलाई एकपछि अर्को गर्दै आपसी सहमतिमा टुंग्याउँदै मर्जरपश्चात् सूर्यज्योति दोस्रो ठूलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा योभन्दा माथि पुग्ने जानकारीले जानकारी दिएको छ ।
सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाइफ इन्स्योरेन्सको रूपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी एतिहासिक सफल मर्जरपश्चात् एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत्, अझ सबल, अझ विशाल रूपमा बीमा क्षेत्रमा उभिएको जानकारी गराए ।