काठमाडौँ, फागुन २८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न कोटेश्वर–कलंकी सडकखण्डको लेन प्रयोगमा नयाँ नियम लागू गर्नेभएको छ । नयाँ नियमअनुसार कोटेश्वर–कलंकी ८ लेन सडकखण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउन पाउनेछन् । उक्त नियम चैत्र २ गतेदेखि लागू गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थितरूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । ‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडीहरू बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ’, उनले भने ।
महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायरसंघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफलसमेत गरेको जनाएको छ । यस नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरी अनुगमनको लागिसमितिसमेत गठन गरिएको महाशाखाले जनाएको छ ।
मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना : कोटेश्वर–कलंकी १० किमि लम्बाइ भएको ८ लेनको उक्त सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावि लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावि ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए । महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । यो नियम यसअघि नै महाशाखाले जडीबुटी–सूर्यविनायक सडकखण्डमा पूर्णरूपमा कार्यान्वयन गरिसकिएको जनाएको छ ।