ढाका । ११ लाख लिटर इन्धन बोकेको पानी जहाज बंगलादेशको एउटा नदीमा डुबेको छ । द डेलिस्टार अनलाइनका अनुसार भोला सादार क्षेत्रस्थित टुलटुलीनजिकै मेघना नदीमा ट्यांकर जहाज डुबेको हो ।
नन्दिनी २ नामक जहाजको आधाभाग पानीमा डुबेको बताइएको छ । जहाजको पछाडिको भाग अन्य अज्ञात साधनमा ठोक्किएपछि उक्त दुर्घटना भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ । जहाजका १३ जना कर्मचारीलाई लगत्तै उद्धार गरिएको थियो ।
अहिले पाइपबाट तेल संकलनको प्रयास भएको बताइएको छ । जहाजको इन्जिनरुम नजिकै प्वाल परेको पाइएको छ । ११ लाख लिटर इन्धनमध्ये २.३४ लाख लिटर डिजेल र बाँकी अन्य इन्धन रहेको थियो । उक्त इन्धन चटग्राम बन्दरगाहबाट चन्दपुरमा रहेको पद्मा आयल डिपोटतर्फ लगिँदै थियो ।