धनबहादुर जप्रेल
कञ्चनपुर, फागुन २८
विश्वमा महामारीको रूपमा देखापरेको कोरोना भाइरस (कोभिड –१९)को कारण नागरिकहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी कञ्चनपुरको दक्षिणी क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाले सोमबार बेलौरीको वैशाखा भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सीअहेव मानबहादुर चन्दले जानकारी दिए । सोमबार बैशाखा भन्सार कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्क प्रत्येक दिन बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन गरिने बताइएको छ ।
कोरोना भाइरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारतसँगको खुला सीमानाका कारण नेपालमा आवतजावत बढी हुने भएकोले बेलौरीको वैशाखा भन्सार नाकामा स्वास्थ्य परीक्षणका लागि बेलौरी नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताए । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट भारतमा आवतजावत गर्दा वैशाखा भन्सार नाकाको बाटो मात्रै प्रयोग गर्न उनले आग्रह गरेका छन् । यसअघि कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव र झोलुङ्गे पुलमा कोरोना चेकजाँचका लागि भीमदत्त नगरपालिकाको हेल्थ डेस्क सञ्चालनमा ल्याइसकेको छ । कञ्चनपुरका अधिकांश स्थानीय तहहरूले बढी भीडभाड र जमघट हुने मेलामहोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलनजस्ता कार्यक्रमहरू नगर्न नगराउन सार्वजनिक रूपमा आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूले संयुक्तरूपमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
यसैबीच, नेपाल रानाथारू समाज र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा फागुन ३० गते गर्ने भनिएको रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी मिलन कार्यक्रमसमेत स्थगित गरिएको नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले जानकारी दिए । सरकारले कोरोनाको संक्रमणबाट बच्न बढी भीडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न नगराउन निर्देशन दिएकोले रानाथारू समाजले पनि होरी मिलनका सबै कार्यक्रम स्थगित गरेको उनको भनाइ छ ।