काठमाडौं । नयाँ सरकारलाई नेप्सेले ग्रिन सिग्नल दिएको छ । माओवादी केन्द्रले नेपाली काग्रेससंगको सत्ता समिकरण तोडेर नेकपा एमालेसंग गठबन्धन कायम गरी नयाँ सत्ता समिकरण सुरु गरेसंगै नेप्सेमा ग्रिन सिग्नल देखिएको हो ।
यसअघि लगातार घट्दै आएको सेयर बजार परिसुचक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा नयाँ सरकार गठन प्रकृया सुरु भएसंगै सेयर बजार परिसुचक एवं कारोबार रकम दुबै नै उच्च अंकले बढ्न सफल भएको छ । यसअघि एमाले सरकारको पालामा बिष्णु पौडेल अर्थमन्त्री भएको र अबपनि एमालले अर्थमन्त्रीकोरुपमा पौडेललाई नैं अघि सारेपछि सेयरबजार परिसुचक उच्च अंकले बढेको छ ।
सो अनुसार नयाँ सत्ता समिकरण पछिको पहिलो दिन अर्थात आज सोमबार बजार परिसुचक ५६ दशमलव ८८ अंकले उकालो लागेर १९ सय २४ दशमलव नौं बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३८ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ४४ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५० वटा कम्पनीहरुको ३८ हजार पाँच सय ५३ पटक सेयर किनबेच भएको छ । जसबाट ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम दुई अर्ब नौं करोड ७० लाख ४९ हजार नौं सय ४१ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये अन्य उपसमुहको सुचक ३४ दशमलव ६६ अंकले ओरालो लागेर १४ सय ८० दशमलव २३ बिन्दुमा झरेको छ भने बाँकी उपसमुहहरुको सुचक उच्च बिन्दुले उकालो लागेका छन् ।