काठमाडौं । नेपाली जाली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ४, रातोपुल बस्ने ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर पक्राउ परेका हुन् ।
उक्त कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार काठमाडौंको तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्देसरह चल्तीमा ल्याई कारोबार गर्न गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा ती व्यक्ति पक्राउ परेका हुन् ।
सो अनुसार निगरानी गर्दै जाँदा कार्यालयबाट खटिएको प्रहरी टोलीले अख्तरलाई नेपाली जाली नोटसहित मंंगलबार काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका अख्तरलाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ को मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बालाजुमा पठाइएको सूचना अधिकृत कोइरालाले जानकारी दिएका छन् ।