काठमाडौं, फागुन २८
भारतको प्रमुख प्रकाशन टाइम्स् अफ इण्डियाद्वारा गत शुक्रबार र शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले गरेका थिए । सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, साना र मझौला” उद्योगहरुको महत्व सहित उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावना विषयक कार्यशालमा वरिष्ठ उपाध्यक्ष अग्रवाल र परिसंघ राष्ट्रिय परिषद्का सदस्य राजबहादुर शाहलेसहभागिता जनाएका थिए ।
वरिष्ठ उपाध्यक्ष अग्रवालले कार्यक्रममा सहभागि विभिन्न देशका उद्योगी व्यवसायी तथा विज्ञहरुसँग नेपालको निजी क्षेत्रले लघु, साना तथा मझौला उद्योग र ठूला उद्योगको संयोजनबाट उत्पादन तथा वितरण विस्तारमा भइरहेका कार्यहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागि भएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडलेस्थानीय तहमा समेत उद्योग ग्राम विस्तार गर्दै पूँजी र प्रविधि हस्तान्तरण मार्फत लघु, साना तथा मझौला उद्योगलाई आर्थिक विकासको मूल प्रवाहमा जोड्न विभिन्न कार्यक्रमहरु भइरहेको बताए । सोहि सम्मेलनको उद्योग ४.० सत्रमा राज्यमन्त्री दूगडले अतिकम विकसित देशको रुपमा नेपालका उद्योगहरुलाई प्रविधि हस्तान्तरण तथा रुपान्तरणमा सहयोग आवश्यक रहेको र त्यसमा सघाउन सरकारले प्रयास गरिरहेको बताए ।
दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगड सहित परिसंघको प्रतिनिधि मण्डलले पी एच् डी सी सी आई तथा यस अन्र्तगतको भारत नेपाल सेण्टरसँग पनि छलफल गरेका थियो । नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समिक्षा सहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर तथा सहकार्य बढाउने विषयमा छलफल भएको परिसंघले जनाएको छ ।