काठमाडौं, फागुन २८
नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न कतार सरकारले विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमको उडान स्थगित भएको हो । कतारले प्रतिबन्ध गरेको १४ देशमा नेपाल पनि परेकाले नेपालीहरुले हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले जनाएको छ । साथै निगमले फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराउने जानकारी दिएको छ । साथै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।