काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि पेट्रोल, डिजेल/मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मूल्य घटाएको हो ।
निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ र हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर२० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७२, हवाइ इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर एक सय ७० र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कायम भएको निगमले जनाएको छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर एक सय ९० र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायम छ ।