सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोडभन्दा बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको हालसम्म प्रवेशशुल्कबाट तीन करोड ६२ लाख सात हजार राजस्व संकलन गरेको हो ।
चालू आर्थिक वर्षमा १५ हजार तीन सय १३ पर्यटकहरु खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ । जसमा साउन महिनामा दुई सय तीन जना, भदौमा छ सय ६१ जना, असोजमा पाँच हजार छ सय २९ जना, कात्तिकमा सात हजार सात सय ८६ जना र मंसिर १५ गतेसम्ममा एक हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । पालिकाले प्रतिविदेशी पर्यटक दुई हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले जानकारी दिए ।