काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय चालू पुँजी कर्जामा आंशिकरुपमा कडाइ गरेको छ । चालू पुँजी कर्जामा तोकिएको सीमाकै कारण अर्थतन्त्रमा समस्या आएको भन्दै सिंगो व्यावसायिक छाता संगठन विरोधमा उत्रिएको छ ।
उद्योगीहरुले चालू पुँजी कर्जासम्बन्धी व्यवस्थामा भएका कतिपय बुँदाहरुमा संशोधनको माग गर्दै प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर समेतलाई भेटेर आफ्ना कुराहरु राखिसकेका छन् । यही बीचमा चालू पुँजी कर्जासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने पक्षमा नेपाल राष्ट्र बैंक पछिल्लो समय लचिलो बन्दै गएको छ । राष्ट्र बैंकले यसको लागि व्यावसायिक छाता संगठनका प्रतिनिधिहरुलाई प्रत्यक्षरुपमा भेटेर छलफल गरेको छ भने सुधारका विषयमा लिखितरुपमा आवश्यक सुझाव पनि मागिरहेको छ । यस अर्थमा पछिल्लो समय नेपालको सिंगो अर्थतन्त्र नै यही चालू पुँजी कर्जासम्बन्धी विषयमा अल्झिएको छ । तर यहीबीचमा बैंक तथा फाइनान्स कम्पनीहरुले भने चालू पुँजी कर्जासम्बन्धी शीर्षकमा मात्र कुल १० खर्ब ५० अर्ब २३ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जासम्बन्धी विस्तृत प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६० वटा संस्थाहरुले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चालू पुुँजी शीर्षकमा मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम ४७ खर्ब ८३ अर्ब ४२ करोड ७० लाख रुपैयाँ रहेको छ भने कुल निक्षेप रकम ५१ खर्ब ८२ अर्ब ५४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र चालू पुँजी शीर्षकमा १० खर्ब २५ अर्ब ४४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा रकम भने ४२ खर्ब ३३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप रकम भने ४५ खर्ब ५९ अर्ब नौ करोड रुपैयाँ रहेको छ । विकास बैंकहरुले भने चालू आवको कात्तिक मसान्तसम्ममा चालू पुँजी शीर्षकमा प्रवाह गरेको कुल कर्जा रकम १८ अर्ब ५४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरुको कुल कर्जा रकम चार खर्ब ५८ अर्ब पाँच करोड ७० लाख रुपैयाँ रहेको छ भने कुल निक्षेप रकम पाँच खर्ब १८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ रहेको छ ।
फाइनान्स कम्पनीहरुले भने चालू पुँजी शीर्षकमा आफ्नो कुल कर्जा लगानीमध्ये छ अर्ब २४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ९२ अर्ब चार करोड ३० लाख रुपैयाँ रहेको भने कुल निक्षेप रकम एक खर्ब पाँच अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पुनः १६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस २५ गते सोमबार पुनः १६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गरिएको हो । यसअघि यही पुस १६ गते पनि राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति पुस २६ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको थियो । जसमध्ये २८ दिनेको २०७९ माघ २४ गते, ९१ दिनेको २०७९ चैत२८ गते र एक सय ८२ दिने अवधिको २०८० असार २६ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएका ती ट्रेजरी बिलहरु सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड र तीन सय ६४ दिने अवधिको सात सात अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।